समाजको हेराइ र मनोबल गिराउने कार्यले थलिँदै स्वास्थ्यकर्मी – समीक्षा लामिछाने

समीक्षा लामिछाने-: पछिल्लो समय कोभिड संक्रमितको संख्या उल्लेखनीय रुपमा बढेसँगै अग्रमोर्चाका स्वास्थ्यकर्मीहरु झनै जोखिमतर्फ धेकेलिएका छन्। त्यसै पनि राज्यको उपेक्षा र समाजको विभेदले पटकपटक अपहेलित हुँदै आएका चिकित्सक र अन्य स्वास्थ्यकर्मी आफैं कोरोना भाइरसको संक्रमण झेल्न विवश बन्दै आएका छन्। पछिल्ल्लो समयका केही घटनाहरुले त झन् आफ्नै ज्यान जोखिममा राखेर कार्य गर्नेहरुलाई नराम्ररी हतोत्साही बनाएको छ।

संक्रमणको बढ्दो जोखिममा पनि बालबच्चा, घरपरिवार, आफन्त र आफ्नै ज्यानको समेत परबाह नगरी दिनरात कार्य गरिरहेका स्वास्थ्यकर्मीमाथिको प्रहार एकदमै निन्दनीय हुन्छ। कतै अस्पताल नै तोडफोड गरिएका छन्, स्वास्थ्यकर्मीमाथि हातपात भएका छन्, बासस्थानबाट लखेटिएका छन् त कतिपय ठाउँमा घेराउ गरिएका छन्। एकातिर कोरोना संक्रमित बढेसँगै उनीहरूको उपचारमा खटिएका चिकित्सक, नर्स, प्राविधिकलगायत स्वास्थ्यकर्मीमा पनि संक्रमणको दर वृद्धि भएको छ भने अर्कोतर्फ स्वास्थ्यकर्मीमा मनोबल गिराउने कार्य भइरहेका छन्।

केही हप्तायता मात्र बिरामीको उपचार र हेरचाहमा खटिएका पाँच सयभन्दा बढीको संख्यामा स्वास्थ्यकर्मीहरु कोरोनाको संक्रमणबाट ग्रसित भइसकेको तथ्यांक छ। तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमित स्वास्थ्यकर्मीको संख्या योभन्दा धेरै हुनसक्ने जनाएको छ । हुन पनि धेरै अस्पतालले स्वास्थ्यकर्मी संक्रमित भएको भनेर सूचना दिँदा बिरामी उपचारका लागि नआइदिने, अस्पतालमा स्वास्थ्य जनशक्ति अभाव हुने र स्वास्थ्यकर्मीलाई पनि समाजले अपहेलना गर्ला, विभेद गर्ला भन्ने डरले यकिन संख्या उपलब्ध गराएका छैनन्। अग्रपंक्तिमा खटिने नै संक्रमित हुँदा कोरोना महामारी रोकथाम र नियन्त्रण झनै असहज बन्दै गइरहेको छ।

बिरामीको उपचारमा फ्रन्टलाइनमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मी नै धमाधम संक्रमित हुन थालेपछि उपत्यका र उपत्यका बाहिरका नाम कहलिएका थुप्रै स्वास्थ्य संस्थाहरुले समेत आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गर्दै आएका छन्। जसले गर्दा नियमित उपचार र हेरचाहको आवश्यकता भएकाहरु, प्रसूति सेवा तथा डायलाइसिस जस्ता अत्यावश्यक सेवा लिनबाट बिरामी बन्चित हुने गर्छन्।

यसरी दिनहुँ स्वास्थ्यकर्मी संक्रमित हुँदै गए अवस्था भयावह हुनसक्ने देखिन्छ। महामारी सुरु भएको यतिका समयसम्म पनि अस्पतालहरुले दिने सेवा र प्रक्रिया परिवर्तन र व्यवस्थित नहुँदा स्वास्थ्यकर्मी आफैं संक्रमित हुँदै गइरहेका छन्। अस्पतालका अन्य सेवाहरु पनि प्रभावित भएका छन्, एउटा केस देखिने बित्तिकै अस्पताल नै सिल गरेर सबैलाई आइसोलेसनमा राख्नुपर्ने अवस्था सिर्जना भएको छ।

विज्ञहरुले बारम्बार सुझाएको कोभिड र ननकोभिडको छुट्टाछुट्टै अस्पताल हुनुपर्ने कुरालाई मध्यनजर नै नगरी जताततै संक्रमित राखिनुले पनि अन्य स्वास्थ्यकर्मीहरु संक्रमणको सिकार बनिरहेका छन्। अस्पतालमा ननकोभिड सेवा दिने वार्डमा पनि कोभिड वार्डकै जस्तो अत्यावश्यक न्यूनतम सुरक्षा सामग्री उपलब्ध गराएर सेवा सञ्चालन गरेमा मात्र अन्य बिरामीहरु र स्वास्थ्यकर्मी सुरक्षित हुनेछन् अन्यथा सम्पूर्ण सेवा नै प्रभावित हुने गर्छ।

अर्कोतर्फ अत्यावश्यक स्वास्थ्य उपकरण र सामग्री नहुँदा दुर्गममा खटिएका स्वास्थ्यकर्मीहरु जोखिममा परिरहेका छन्। कोरोना भाइरस रोकथामको लागि ग्रामीण क्षेत्रमा सञ्चालित हेल्थडेस्क, क्वारेन्टाइन, स्वाथ्यचौकीहरुमा अझै पनि गुणस्तरीय र पर्याप्त मात्रामा स्वास्थ्य सुरक्षा सामग्री पुर्‍याउन सकिएको छैन, जसले चौतर्फी जोखिम निम्त्याएको छ। कतिपय अस्पतालमा भने अस्पतालले सतर्कता र सावधानी नपआउँदा व्यवस्थापकीय कमजोरीका कारण स्वास्थ्यकर्मी असुरक्षित भएका छन्। अस्पताल प्रशासनले समेत संक्रमितको उचित व्यवस्थापन, सरसफाइ, फोहोर व्यवस्थापन, भौतिक दूरी तथा प्रविधिको उच्चतम प्रयोग गर्न सकेको खण्डमा स्वास्थ्यकर्मीलाई संक्रमणबाट जोगाउन सकिन्छ।

नेपालमा कोरोना संक्रमणको तीव्र फैलावटसँगै आइसीयु र भेन्टिलेटरमा राख्नुपर्ने बिरामीहरु बढिरहेका छन्, मृत्युदर पनि बढेको छ जसको प्रत्यक्ष जोखिम स्वास्थ्यकर्मीलाई नै हुन्छ। पिपिई लागाएर लामो समयसम्मको निरन्तर कार्यबोझले उत्पन्न शारीरिक थकान, विभिन्न स्वास्थ्य समस्यासँगै मनोवैज्ञानिक असर पनि उत्तिकै हुन्छ।विगत ५/६ महिनादेखि निरन्तर खटिइरहेका स्वास्थ्यकर्मीहरु महामारीका कारण झनै बढी प्रभावित भइरहेका छन्। न्यूनतम सेवासुविधा र प्रोत्साहनका बाबजुद पनि जोखिम मोलेर नै अहोरात्र खटिइरहका छन् स्वास्थ्यकर्मीहरु।

महामारीको प्रकोप फैलिन नदिन स्वास्थ्यकर्मीहरु स्वास्थ्य क्षेत्रकै मेरुदण्डको रुपमा कार्य गर्दै आइरहेका छन्। विश्वव्यापी कोरोना महामारी विरुद्दको युद्धमा अग्रस्थानका योद्धा भनेका स्वस्थाकर्मीहरु नै हुन्। उनीहरुको सुरक्षालाई ध्यान नदिने, शारीरिक, मानसिक र पारिवारिक सुरक्षा नहुने हो भने महामारी विरुद्ध लड्ने आत्मबल कमजोर हुन्छ। कोरोना संक्रमितका लागि खटिने सबै चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीमाथि हुने सबै प्रकारका विभेदको अन्त्य गरिनुपर्छ। महामारी विरुद्ध लड्न र संक्रमितको सुरक्षाको लागि उनीहरुलाई थप सहयोग र सद्भाव जरुरी छ।

अहिले समुदायमा कोरोना फैलिदै गइरहेको छ। संक्रमण सरकार र सरोकारवालाहरुको नियन्त्रणभन्दा बाहिर गइसकेको छ। जसले गर्दा राष्ट्रव्यापी म्यासिभ आउटब्रेकको जोखिम दिनप्रतिदिन बढेको पाइन्छ। राज्यको सम्पूर्ण स्वास्थ्य प्रणाली नै कमजोर हुँदै गइरहेको अवस्थामा स्वास्थ्यकर्मीहरु आफैं थालिदै जाने, दुर्व्यवहार र अपहेलनाको सिकार बन्दै जाने हो भने भोलिको अवस्था के होला, मनन गर्नुपर्ने बेला भएको छ।

जुनसुकै महामारीको संकटमा राज्यको प्रतिनिधित्व गर्ने स्वास्थ्यकर्मी नै हुन्। कोरोना भाइरस विरुद्धको लडाईंमा समेत देशको ठूलाठूला सहरदेखि दूरदराजका कुना कन्दरासम्म स्वास्थ्यकर्मी खटिएका छन्। यस महामारीमा खटिएका स्वास्थ्यकर्मीलाई आज सुरक्षा, हौसला, मनोबल र असल नेतृत्व चाहिएको बेला विभेद र वितृष्णाले झनै गलाएको छ। त्यसैले स्वास्थ्य सेवाको विशिष्टता र सम्वेदनशीलताको ख्याल गर्दै थालिँदै गएका स्वास्थ्यकर्मीमा थप प्रोत्साहन र ऊर्जा सहित महामारी नियन्त्रण र रोकथाममा जुट्नुको विकल्प देखिँदैन। अन्यथा राज्यले ठूलो क्षति व्यहोर्ने निश्चित देखिन्छ।स्वास्थ्य पत्रिका (लामिछाने पाटन अस्पतालको नर्सिङ विभागमा कार्यरत छिन्।)

प्रकाशित मिति August 27, 2020
Loading...