प्रधानमन्त्री ओलीको राष्ट्रियता मुद्दा कागजी बाघ मात्र, गुमेको भूमि फिर्ता गराउन सक्दैनन् : रामचन्द्र पौडेल

काठमाडौं, २७ असार –  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रियताको नारा कागजी बाघ मात्र भएको जिकिर गर्नु भएको छ ।गण्डकी प्रदेशका कांग्रेस नेता कार्यकर्ताहरुसंगको अर्चुअल बैठकमा नेता पौडेलले राष्ट्रियताको मुद्दालाई ओलीले कागजी बाघ मात्र बनाएको बताउनु भयो ।

उहाँले प्रधानमन्त्री ओलीले राष्ट्रियतालाई कागजी बाघ बनाएकाले नेपाली भूमि फिर्ता गर्न नसक्ने दावी गर्नुभयो । उहाँले वार्ता गर्ने बेलामा गाली गलौजमा उत्रिएर भारतसंगको वार्ताको वातावरण विगारेको आरोप समेत लगाउनु भयो ।वरिष्ठ नेता पौडेलले कम्युनिष्टहरुको राष्ट्रियता मात्र नभएर समाजवाद पनि कागजी बाघ भएको बताउनुभयो । उहाँले कम्युनिष्टहरुले भन्ने समाजवाद, समानता तर काम भने भ्रष्टाचार गरेर नयाँ वर्ग जन्माउने गरेको बताउनुभयो ।

पौडेलले गरिबी, अशिक्षा, तथा महामारी रोक्न कम्युनिष्ट सरकार असफल भएको दावी पनि गर्नुभयो । कम्युनिष्टहरुले जनतालाई झुक्याउने अनि सत्ता हत्याउने जालझेल भन्दा अरु कुनै काम गर्ने ढंग नभएको पौडेलको भनाइ थियो ।पौडेलले कांग्रेसको १४ औं महाधिवेशन फागुनमा हुँदैन कि भन्ने शंका नगर्न आम नेता कार्यकर्तालाई आग्रह गर्नुभयो

उहाँले फागुनमा महाधिवेशन गर्नका लागि पर्याप्त समय भएको बताउदै कतै महाधिवेशन नगराउनेहरु सक्रिय हुन्छ किन भन्नेमा खबरदारी गर्न आग्रह पनि गर्नुभयो । उहाँले क्रियाशील सदस्य वितरण गरेको दुई महिनामा सवै स्थानीय अधिवेशन सम्पन्न हुने स्पष्ट पार्नुभयो ।

 

प्रकाशित मिति July 12, 2020
Loading...